Section 49
धितोको हकको कार्यान्वयनमा बाधा विरोध गरेमा प्राप्त अधिकार
(१) यस ऐन, धितोसम्बन्धी सम्झौता वा प्रचलित कानून प्रतिकूल हुने गरी धितो दिने व्यक्तिले धितोको हकको कार्यान्वयन गर्ने, धितो बेचबिखन गर्ने वा अन्य तरिकाबाट चलन चलाउने कार्यमा रोक लगाएमा वा बाधा विरोध गरेमा धितो लिने व्यक्तिले धितोको सम्पत्तिको सुरक्षा गर्नको लागि देहायका अवस्थामा अदालतमा निवेदन दिन सक्नेछः–
(क) धितोको सम्पत्तिमा हानि नोक्सानी पुर्याएको वा पुर्याउन सक्ने सम्भावना रहेको वा गलत ढङ्गले हस्तान्तरण भएको वा हुनसक्ने संभावना रहेको,
(ख) धितोको सम्पत्ति पत्ता लगाउन नसकिने अवस्था भएको, वा
(ग) धितो दिने व्यक्ति पत्ता लगाउन नसकिएको ।
(२) उपदफा (१) बमोजिम परेको निवेदनको सम्बन्धमा अदालतले देहायबमोजिमको आदेश जारी गर्न सक्नेछः–
(क) धितो दिने व्यक्ति वा धितोको सम्पत्ति कब्जामा राख्ने अन्य कुनै पनि व्यक्तिलाई धितोको सम्पत्ति बेचबिखन गर्न रोक लगाउने,
(ख) धितो दिने व्यक्ति वा धितोको सम्पत्तिको बारेमा जानकारी भएको अन्य कुनै पनि व्यक्तिलाई अदालत समक्ष हाजिर हुन आउन र धितोको सम्पत्तिको सम्बन्धमा जानकारी दिन लगाउने,
(ग) धितो दिने व्यक्तिलाई धितोको सम्पत्तिउपरको कब्जा धितो लिने व्यक्तिलाई जिम्मा दिन लगाउने,
(घ) यस ऐनबमोजिम धितोको हकसहितको धितोको सम्पत्ति प्राप्त गरेको कुनै पनि व्यक्तिलाई त्यस्तो धितोको सम्पत्तिउपरको कब्जा धितो लिने व्यक्तिलाई जिम्मा दिन लगाउने ।